फूड रियालिटी टिभी शो “शेफ नेपाल” मा विजेतालाई २५ लाख पुरस्कार

फूड रियालिटी टिभी शो “शेफ नेपाल” मा विजेतालाई २५ लाख पुरस्कार

नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ २०८० भाद्र २१, देखी कान्तिपुर टिभीमा हुने भएको छ । प्रतिस्पर्धाका विजेताका लागी २५ लाख रुपैयाँ नगद पुरस्कार रखिएको छ । पुरस्कार रकम बिजेता घोषणा भए पश्चात १ वर्ष भित्र आकस्मिक लाभ कर कट्टा गरी निर्माता टिमले उपलब्ध गराउने छ ।

रियालिटी शोको प्रारम्भिक उध्घोष २०८० वैशाखमै गरिएको थियो । ‘त्यसपछि हामीले आन्तरिक तयारी एवं बजार प्रबर्द्धन गर्नुका साथै प्रतियोगीहरूको आवेदन लियौँ’, शोका निर्माता एवं कृएटिभ डाइरेक्टर धर्मराज पाण्डेले भने ।

उनका अनुसार ५ सयभन्दा बढी आवेदन परेकोमा १०० जनालाई लाईभ अडिसनका निमित्त छनोट गरिएको छ । “सेफ नेपाल अन्तर्राष्ट्रियस्तरको खाना पकाउने कलासम्बन्धी शो हो”, निर्माता पाण्डेले भने, “सञ्जीव कपुरको खाना खजानालगायतको भारतीय टीभी शोहरू, बीबीसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचन जस्ता विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखीहरूले अब नेपालको आफ्नै कार्यक्रमबाट आनन्द प्राप्त गर्नेछन् ।”

यो शोले नेपाली खाना संस्कृति र सन्तुलनलाई विश्वसामु प्रतिनिधित्व गर्ने उनले बताए ।

सञ्चालकका अनुसार कार्यक्रमका लागि अनलाइन अडिसनमार्फत प्राप्त भएका आवेदनमध्ये १०० जना छानेर ‘सेफ नेपाल’को युट्युब च्यानलमा प्रशारण गरिएको थियो ।

अनलाइन अडिसन बन्द भइसके पनि समयमै थाहा पाउन नसकेका, आवेदन दिन छुटेका, खाना पकाउन आतुर जोकोहीलाई आवेदन दिन १ हप्ता थप गरिएको सेफ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, प्रोफेसनल सेफले भने आवेदन दिन पाउने छैनन् ।

श्रावण ३, २०८०
Author: Chef Nepal